काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा झण्डै १४ खर्ब पुगेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार, कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९७ अर्ब २३ करोड बराबर पुगेको छ।
कुल वस्तु आयात १३ दशमलव एक प्रतिशतले वृद्धि भई रु १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो आयातमा एक दशमलव आठ प्रतिशतले कमी आएको थियो ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युतीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव ६ प्रतिशत, १५ दशमलव तीन प्रतिशत र २९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु एक खर्ब ६७ अर्ब ३० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु एक खर्ब ३७ अर्ब १३ करोड बराबरको भएको थियो । आर्थिक वर्ष २०८१र८२ को एघार महिनामा कुल वस्तु निर्यात ७७ दशमलव आठ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११२ प्रतिशत, तीन प्रतिशत र चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटो लगायतका वस्तुको निर्यात बढेको छ ।






































