काठमाडौँ । गएको असार २३ गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढी तथा पहिरोको क्षतिलाई लिएर करिब साढे ८४ करोड रुपैयाँको बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार ११ निर्जीवन बीमा कम्पनीमा ८४ करोड ३८ लाख १० हजार रुपैयाँको बीमा दाबी परेको हो । कम्पनीहरूमा कुल ६८ वटा बीमा दाबी परेका छन् । यो तथ्यांक साउन ८ गतेसम्मको हो ।
तथ्यांक अनुसार हिमालयन लाइफ इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दाबी परेको छ । कम्पनीमा दुई वटा बीमा दावी वापत ५५ करोड रुपैयाँको दाबी परेको छ ।
त्यस्तै शिखर इन्स्योरेन्समा १२ वटा दाबी वापत १६ करोड ८५ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ३ वटा दाबी वापत पाँच करोड १२ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको विवरणले देखाएको छ ।
as
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई वटा दाबी वापत दुई करोड ६५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १२ वटा दाबी वापत एक करोड २८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दाबी वापत ९१ लाख रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा नौ वटा बीमा दाबी वापत ७५ लाख ५० हजार रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ ।
तथ्यांक अनुसार साउन ८ गतेसम्म सम्पत्ति बीमामा ६ वटा दाबी वापत ५८ करोड एक लाख रुपैयाँ, सामुन्द्रिक बीमामा ७ वटा दावी वापत १६ करोड २३ लाख रुपैयाँ, इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमामा ३ दाबी वापत पाँच करोड ४० लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक) मा ३८ वटा दाबी वापत दुई करोड ५९ लाख रुपैयाँ र मोटर बीमा (निजी) मा १४ दाबी वापत दुई करोड १४ लाख रुपैयाँ बीमा दाबी परेको छ ।
नियामक निकाय बीमा प्राधिकरणले सबै विवरण संकलन गरी सक्दो चाँडो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।


































