काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले सञ्चालकहरूले राजीनामा दिएको १ वर्षपछि पनि आफूले स्वामित्वमा राखेको सेयर बिक्री गर्न नपाउने व्यवस्थालाई 'अत्यन्तै अव्यवहारिक' भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
सङ्घले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७९ को नियम ३८ (१ क) अन्तर्गत रहेको उक्त व्यवस्थाप्रति आपत्ति जनाउँदै धितोपत्र बोर्ड, बीमा प्राधिकरणलगायत सरोकारवाला निकायमा पुनः ध्यानाकर्षण गराएको हो।
सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कम्पनीमा रहेका अन्य सेयरधनीजस्तै सञ्चालकहरू पनि लगानीकर्ता नै हुन्। तसर्थ, निर्वाचित सञ्चालकको हैसियतमा बसेका कारण सेयर खरिद–बिक्रीमा रोक लगाउनु अन्यायपूर्ण र अव्यवहारिक व्यवस्था हो।”
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहेका सङ्घका अध्यक्ष राजेन्द्र मल्लले सेयर बिक्रीसम्बन्धी वर्तमान व्यवस्था लगानीमैत्री नरहेको र व्यवसाय सञ्चालनमा समेत बाधा पुग्ने बताएका छन्।
https://aarthikvoice.com/archives/59177
उनका अनुसार सञ्चालकहरू अन्य सेयरधनी सरह नै कम्पनीमा लगानी गर्छन्, त्यसैले उनीहरूलाई आफ्नो सम्पत्तिको उपयोगमा रोक लगाउनु अनुचित हो।
मल्लले भने, “यदि कुनै व्यवसायीले आफ्नै चल सम्पत्ति एक वर्षसम्म बिक्री गर्न नपाउने अवस्था आयो भने त्यसले उद्यम, व्यवसायको विविधीकरण तथा अन्य अत्यावश्यक आर्थिक गतिविधिमा समेत अवरोध ल्याउँछ।”
सङ्घले सुझाएको छ कि सञ्चालक पदमा रहँदासम्म नियामक निकायलाई जानकारी दिएर स्वामित्वमा रहेको सेयरको ५० प्रतिशतसम्म बिक्री गर्न मिल्ने व्यवस्था ल्याइनुपर्छ।
सङ्घको भनाइमा हालको व्यवस्थाले लगानी वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै विदेशी लगानीकर्ताको समेत आकर्षणमा कमी ल्याउने सम्भावना रहेको छ।
https://www.youtube.com/watch?v=zksUO-w-4Qs






































