काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारी खातामा ३ खर्ब १३ अर्ब ७२ करोड रुपैयाँ नगद मौज्दात भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्षको ९ महिनाको तथ्यांकमार्फत सो जानकारी दिएको हो ।
२०८० चैत मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब १३ अर्ब ७२ करोड रुपैयाँ नगद मौज्दात रहेको थियो । साथै, २०८० असार मसान्तमा यस्तो मौज्दात जम्मा ६५ अर्ब ३६ करोड रुपैयाँ मात्र रहेको थियो ।
त्यस्तै, चैत मसान्तसम्म विनियोजित बजेटमध्ये जम्मा ९ खर्ब ९ अर्ब ३९ करोड रुपैयाँ मात्र खर्च गरेको सरकारमाथि बाँकी ३ महिनामा ६ खर्ब २१ अर्ब हाराहारी बजेट खर्च गर्नुपर्ने चुनौती रहेको देखिन्छ।
चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले अर्धवार्षिक समीक्षामार्फत खर्चको सीमा संशोधन गर्दै १५ खर्ब ३० अर्ब हाराहारी मात्र खर्च गर्न सकिने अवस्था छ।
यता, चैत मसान्तसम्म सरकारको कुल विनियोजित बजेटमध्ये जम्मा ९ खर्ब ९अर्ब ३९ करोड रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ भने सरकारी खर्च गत आर्थिक वर्षको पहिलो ९ महिनामा १८।७ प्रतिशतले वृद्धि भएकोमा, समीक्षा अवधिमा ३।६ प्रतिशतले ह्रास आएको अवस्था छ ।
समीक्षा अवधिमा चालु खर्च ६ खर्ब ४४ अर्ब ३ करोड, पुँजीगत खर्च ९७ अर्ब ३८करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १ खर्ब ६७अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत ७ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको पहिलो ९ महिनामा १३।४ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९।४ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व ६ खर्ब ७१ अर्ब १२ करोड रुपैयाँ र गैर कर राजस्व ७६ अर्ब ९३ करोड रुपैयाँ परिचालन भएको केन्द्रीय बैंकले जनाएको छ ।






































