काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदीका गरगहना व्यवसायमा लगाएको कर हटाउन माग गर्दै बर्दियाका सुनचाँदी व्यवसायीहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।
नेपाल सुनचाँदी व्यवसायी संघ बर्दिया र बर्दिया सुनचाँदी व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्।
चालु आर्थिक वर्षमा १० लाख रुपैयाँभन्दा माथिको गरगहनामा मात्र लागु गरिएको विलासिता कर आगामी आर्थिक वर्षको बजेटमा सीमा नतोकी सम्पूर्ण गरगहनामा लागु गरिएको भन्दै सुनचाँदी व्यवसायीहरू आक्रोशित भएका छन्।
सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हीरामा १३ प्रतिशत भ्याट खारेज गरिनु पर्ने, सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने सुनचाँदीको कारोबारका लागि प्रस्ट नीति नियमावली निर्माण गर्नुपर्ने लगायतसँग मागहरू प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको बर्दिया सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ ।































