काठमाडौँ । सुप्रिम सहकारीको रकम ठगी मुद्दामा अभियोग लागेका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने हिजो बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका छन् ।
बुधबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बयान सकेपछि लामिछानेलाई परिवार र प्रतिवादीका वकिलको जिम्मामा रिहा गर्ने आदेश दिएको थियो ।
बुधबार सुरु भएको बयानमा लामिछानेले अभियोग अस्वीकार गरेका थिए। उनले गोर्खा मिडियाको आर्थिक व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी कम्पनी अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राईको रहेको दाबी गरेका छन् ।
अदालतले लामिछानेलाई आज बिहान १० बजे पुनः उपस्थित हुने सर्तमा हिरासतबाहिर रहन अनुमति दिएको हो । अब सरकारी वकिल पक्षबाट उच्च सरकारी वकिल कार्यालय बुटवलका सोमकान्ता भण्डारी, प्रेमराज पौडेललगायतले बहस गर्नेछन् ।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी प्रकरणमा २२ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको छ। अभियोगपत्रमा ५५ करोड ५९ लाख रुपैयाँ बिगो माग गरिएको छ। त्यसमध्ये लामिछाने, जीबी राई र पूर्व उपाध्यक्ष छविलाल जोशीसँग मात्र १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ।
































