काठमाडौँ। सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो।
सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता गोकर्णराज घिमिरेका अनुसार मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको जानकारी दिएका छन् । घिमिरेले भने ''मैले तपाइहरूसँग हामी शुक्रवार नै मुद्दा दायर गर्ने तयारीमा छौ भनेर जानकारी गराएको थिए हाम्रो आन्तरिक तयारी नपुगेको कारण त्यही बेला गर्न सकिएन र आज गरेका हौ।''
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी रहेको घिमिरेले आर्थिक भ्वाइसँग भने । लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर भएको छ ।
सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।































