काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघले हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुको सूचीबाट हटाइएको र सुनमा विलासिता कर लगाइएकोप्रति गम्भीर आपत्ति जनाएको छ। संघले आज पत्रकार सम्मेलन गर्दै गर्दै नयाँ बजेटमा भएका यी व्यवस्थाप्रति आपत्ति जनाएको हो।
संघले हिरा र बहुमूल्य पत्थरलाई पुनः मूल्य अभिवृद्धि कर छुट हुने वस्तुको सूचीमै राख्नुपर्ने, सुनमा विलासिता कर लगाउने प्रावधान खारेज गर्नुपर्ने र सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्ब जारी गर्नुपर्ने, गरगहना व्यवसायलाई समेत ड्युटी ड्र ब्याकको सुविधा प्रदान गर्नुपर्ने लगायतका माग राखेको छ ।
सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटका क्रममा आर्थिक अध्यादेशमार्फत गरिएका केही व्यवस्थाले गरिरहेको सुन, हिरा र बहुमूल्य पत्थरको व्यवसाय धराशायी हुने अवस्थामा पुगेको संघले जनाएको छ।
सरकारले हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धि कर छुट हुने वस्तुको सूचीबाट हटाएको छ। सुन र सुनका गरगहनामा विलासिता कर लाग्ने घोषणा गरेको छ। व्यवसायीले १० लाख रुपैयाँभन्दा माथिका गरगहना बिक्रीमा गत वर्षदेखि लागू भएको २ प्रतिशत विलासिता कर नै फिर्ता गर्नुपर्ने माग गरिरहेका थिए।































