काठमाडौँ । भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने दाबी अस्वीकार गरेका छन्।
नेपाल–भारत सम्बन्ध तथा सीमा विषयमा अध्ययन गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्यसमेत रहेका आचार्यले दुई देशबीचको सीमा विवाद अधिकांश रूपमा समाधान भइसकेको बताए। उनका अनुसार करिब ९७ प्रतिशत सीमा समस्या टुंगिएको छ।
आचार्यले सीमा क्षेत्रमा कतिपय ठाउँमा जंगे पिलर हराउनु वा स्थानीयस्तरमा खेतीपाती तथा बसोबासका कारण केही अस्पष्टता देखिए पनि त्यसलाई राज्यस्तरको अतिक्रमण भन्न नमिल्ने स्पष्ट पारे। उनले सीमाका केही भूभागमा दुवै देशका नागरिकले एकअर्काको क्षेत्रमा खेती वा बसोबास गर्ने अवस्था देखिए पनि त्यो औपचारिक रूपमा भूमि मिचिएको प्रमाण नहुने बताए।
उनले नेपाल र भारतबीच मुख्य रूपमा लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा नवलपरासीको सुस्ता क्षेत्रमा मात्रै विवाद रहेको उल्लेख गर्दै अन्य स्थानमा देखिएका समस्या सीमासम्बन्धी प्राविधिक विषय भएको धारणा राखे। साथै, प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सन्दर्भ स्पष्ट नभएको पनि उनले बताए।





































