नवलपरासी । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लोपोन्मुख जलचर प्रजातिको संरक्षणका लागि सचेतना कार्यक्रम सम्पन्न गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त कार्यक्रम नवलपरासीका विभिन्न स्थानमा आयोजना गरिएको हो।
जहराही र पहुरा नदीको संगमस्थलमा आयोजित कार्यक्रम रामग्राम–१७, सरावल–३ र पाल्हिनन्दन–६ क्षेत्रका समुदायलाई लक्षित गरिएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, माछा व्यवसायी तथा जनप्रतिनिधि गरी करिब १३० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा लोपोन्मुख गोही तथा जलचर पारिस्थितिक प्रणालीको संरक्षणबारे सचेतना फैलाइएको थियो। साथै, प्राकृतिक बासस्थानमा गोहीका लागि आहारको रूपमा ५० किलो जिउँदो माछा नदीमा छोडिएको बैंकले जनाएको छ।
सहभागीहरूको सक्रियताले कार्यक्रम प्रभावकारी बनेको र स्थानीय समुदायमा जैविक विविधता संरक्षणप्रति चेतना बढाउन मद्दत पुगेको बैंकले उल्लेख गरेको छ।
बैंकले यस्ता कार्यक्रममार्फत वातावरण संरक्षण र दिगो सामुदायिक विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।


































