काठमाडौं । सोमबार सेयर बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि नेप्से परिसूचक भने सामान्य अंकले बढेको छ । बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २.२६ अंकले वृद्धि हुँदै २६२३ अंकमा पुगेको हो ।
सोमबार कारोबारमा आएका कुल कम्पनीमध्ये १६५ वटाको सेयर मूल्य घटेको छ भने १०५ वटाको बढेको छ । त्यस्तै १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन ।
अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि मूल्य बढेका कम्पनीहरूको बजार पुँजीकरण तुलनात्मक रूपमा उच्च रहेकाले समग्र नेप्से परिसूचक सकारात्मक बनेको हो । यसअघि शुक्रबार नेप्से ७.३८ अंकले घटेको थियो ।
कारोबार रकममा सामान्य गिरावट
सोमबार सेयर बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ ।
बैंकिङ समूहको वृद्धिले बजारलाई टेवा
सोमबारको बजार वृद्धिमा सबैभन्दा ठूलो बजार पुँजीकरण रहेको बैंकिङ समूहले मुख्य योगदान दिएको छ । उक्त समूह ०.६५ प्रतिशतले बढेको छ ।
त्यस्तै विकास बैंक समूह ०.५७ प्रतिशत, लगानी समूह ०.२३ प्रतिशत र अन्य समूह ०.८१ प्रतिशतले बढेका छन् ।
यता फाइनान्स समूह ०.१७ प्रतिशत, होटल तथा पर्यटन ०.२२ प्रतिशत, जलविद्युत् ०.२८ प्रतिशत, जीवन बीमा ०.०६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.२५ प्रतिशतले घटेका छन् ।
त्यसैगरी माइक्रोफाइनान्स समूह ०.६२ प्रतिशत, निर्जीवन बीमा ०.९६ प्रतिशत र व्यापार समूह ०.६३ प्रतिशतले ओरालो लागेका छन् ।
मेन्छियाम हाइड्रोपावरको मूल्यमा सर्वाधिक वृद्धि
सोमबार मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशतले बढेको छ । त्यस्तै माउन्टेन हाइड्रो नेपालको ५.६२ प्रतिशत, बुंगल हाइड्रोको ५.४९ प्रतिशत, रावा इनर्जीको ३.८३ प्रतिशत र सिनर्जी पावरको ३.१२ प्रतिशतले मूल्य बढेको छ ।
यसको विपरीत भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.३३ प्रतिशतले घटेको छ । स्वस्तिक लघुवित्तको ५.७१ प्रतिशत, नेपाल वेयरहाउजिङको ५.०३ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४.०६ प्रतिशत र सुपर खुदी हाइड्रोपावरको ३.८५ प्रतिशतले मूल्य घटेको छ ।
कारोबारमा यी कम्पनी अगाडि
कारोबार रकमका आधारमा सोमबार ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि रहेको छ । त्यसपछि क्रमशः लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, भिजन लुम्बिनी ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स र पिपुल्स हाइड्रोपावर कारोबारका आधारमा अगाडि रहेका छन् ।

































