काठमाडौं । सेयर बजारमा लगातार तेस्रो कारोबार दिन पनि सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक ८.७० अंकले बढेर २ हजार ६४७.६५ विन्दुमा पुगेको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि बढेर ६ अर्ब रुपैयाँ नाघेको छ ।
मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ६ अर्ब १४ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन ३५६ कम्पनीका १ करोड ६५ लाख २३ हजार कित्ता सेयर ५२ हजार ६६९ पटकको कारोबारमा किनबेच भएका छन् ।
कारोबार रकमका आधारमा हिमालयन ऊर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, कुमारी बैंकको २२ करोड रुपैयाँभन्दा बढी र ग्लोबल आइएमई बैंकको करिब १८ करोड रुपैयाँको कारोबार भएको छ ।
मूल्य वृद्धिका आधारमा मुक्तिनाथ कृषि कम्पनी अगाडि रहेको छ । कम्पनीको सेयरमूल्य १०.९८ प्रतिशत बढेको छ । हिमालयन ऊर्जा विकास कम्पनीको मूल्य साढे ८ प्रतिशत र कालिका लघुवित्त वित्तीय संस्थाको करिब ६ प्रतिशत वृद्धि भएको छ । मूल्य घटेका कम्पनीको गिरावट भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये १० वटाको परिसूचक बढेको छ भने तीनवटाको घटेको छ । बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, म्युचुअल फन्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूह बढेका छन् । होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहमा भने गिरावट आएको छ ।


































