काठमाडौं। कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
असार मसान्त सम्ममा बैंकले २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३४५.६७ प्रतिशतले बढेको हो । बैंकले अघिल्लो वर्ष ५१ करोड ७९ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ३०५.९४ प्रतिशतले बढेर ३ अर्ब ९० करोड रुपैयाँ नाघेको छ । गत वर्ष यसले ९६ करोड १६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
बैंकले अघिल्लो वर्ष ८ अर्ब ११ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर ३ अर्ब ५६ करोड रुपैयाँमा झरेको छ । बैंकको सञ्चालन नाफा बढ्नु तथा इम्पेयरमेन्ट चार्ज भारी मात्रमा घट्दा नाफा भारी मात्रामा बढ्न पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी भने ०.७२ प्रतिशतले घटेर १० अर्ब ९८ करोड रुपैयाँमा झरेको छ । यसको रिजर्भ कोषमा १४ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ ।
चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८३ पैसाले बढेर ८ रुपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९७ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४७ पैसा रहेको छ ।






































