काठमाडौं । कुमारी बैंकका शेयरधनीले तीन वर्षपछि बल्ल प्रतिफल पाउने भएका छन्। मर्जरपछि लगातार तीन आर्थिक वर्ष लाभांश वितरण गर्न नसकेको बैंकले चौथो वर्षमा कर प्रयोजनसहित २.१०५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकले प्रस्ताव पारित गर्न असोज २८ गते २६औँ वार्षिक साधारणसभा बोलाएको छ।
बैंकको वार्षिक प्रतिवेदनअनुसार ०.५ प्रतिशत वा त्यसभन्दा बढी शेयर स्वामित्व भएका प्रमुख शेयरधनी २२ जना तथा संस्थागत लगानीकर्ता रहेका छन्। यी शेयरधनीमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा कम्पनीसँगै विभिन्न व्यवसायिक समूह र व्यक्तिगत लगानीकर्ताको उल्लेख्य हिस्सा रहेको छ।
बैंकको सबैभन्दा ठूलो शेयरधनी कर्मचारी सञ्चय कोष हो। कोषसँग ८३ लाख ६३ हजार ११३ कित्ता अर्थात् बैंकको कुल शेयरको ३.१९ प्रतिशत स्वामित्व रहेको छ।
व्यक्तिगत लगानीकर्तातर्फ अमीर प्रताप जेबी राणा सबैभन्दा अगाडि छन्। उनको नाममा ५२ लाख ९० हजार ५८३ कित्ता अर्थात् २.०२ प्रतिशत शेयर रहेको छ। त्यस्तै, नागरिक लगानी कोषसँग ४९ लाख ४३ हजार ४२७ कित्ता अर्थात् १.८८ प्रतिशत शेयर रहेको छ।
प्रमुख शेयरधनीमध्ये जानुकी कुमारी जेबी राणा शाहीको १.३० प्रतिशत, सावित्री गुरुङको १.२० प्रतिशत र हिमालयन लाइफ इन्स्योरेन्सको १.१७ प्रतिशत शेयर स्वामित्व छ। त्यस्तै, सुमित कुमार अग्रवालको ०.९५ प्रतिशत र वीरेन्द्र कुमार शाहको ०.९१ प्रतिशत शेयर रहेको छ।
बैंकमा पशुपति मुरारका र गौरी श्रेष्ठको समान ०.६९ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ०.६५ प्रतिशत तथा नारायण प्रसाद श्रेष्ठको ०.६१ प्रतिशत शेयर स्वामित्व रहेको छ। हिमालयन क्यापिटल मार्केट्स एन्ड इन्भेस्टमेन्ट र ओम प्रसाद श्रेष्ठको पनि समान ०.६० प्रतिशत शेयर रहेको प्रतिवेदनमा उल्लेख छ।
कुमारी बैंकमा भाटभटेनी समूहको पनि उल्लेख्य उपस्थिति देखिन्छ। व्यवसायी मिनबहादुर गुरुङको नाममा ०.५९ प्रतिशत र भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोरको नाममा ०.५८ प्रतिशत शेयर रहेको छ। गुरुङकी श्रीमती सावित्री गुरुङको नाममा समेत १.२० प्रतिशत शेयर रहेको छ।
त्यस्तै, प्रदीप कुमार मुरारकाको ०.५७ प्रतिशत, जगन्नाथ ज्ञवालीको ०.५६ प्रतिशत, राम प्रसाद श्रेष्ठको ०.५५ प्रतिशत, अनुपम राठीको ०.५४ प्रतिशत, नवीन अग्रवालको ०.५३ प्रतिशत र जेनिथ इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजको ०.५० प्रतिशत शेयर स्वामित्व रहेको छ।
कुमारी बैंकले तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँगको मर्जरपछि पूँजी समायोजन, खराब कर्जा व्यवस्थापन तथा सम्पत्तिको गुणस्तर सुधारमा चुनौती सामना गरेको थियो। यही कारण मर्जरपछिका तीन आर्थिक वर्षमा शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको बैंकले जनाएको छ।
चौथो वर्षमा प्रस्ताव गरिएको २.१०५३ प्रतिशत नगद लाभांश तुलनात्मक रूपमा सामान्य भए पनि लामो समयदेखि प्रतिफलको प्रतीक्षामा रहेका शेयरधनीका लागि भने यो महत्वपूर्ण सुरुवातका रूपमा देखिएको छ। बैंकको वित्तीय अवस्था सुधार हुँदै गए आगामी वर्षमा शेयरधनीको प्रतिफल पनि बढ्ने अपेक्षा गरिएको छ।

































