काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा अधिक मात्रामा वृद्धि भएको छ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.३६ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ०.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७८.२६ प्रतिशत बढेको छ। यस अवधिमा बैंकको खराब कर्जा २.३५ प्रतिशतबाट घटेर १.८४ प्रतिशतमा झरेको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७८ पैसा बढेर ३१ रुपैयाँ ३ पैसा पुगेको छ। यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.११ गुणा रहेको छ।
चुक्ता पूँजी १० अर्ब ५० करोड १ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष ९.०८ प्रतिशतले बढेको छ। त्यस्तै, यस अवधिमा बैंकको निक्षेप ३.२९ प्रतिशत र कर्जा तथा सापटी १.६४ प्रतिशत बढेको छ।
यस अवधिमा बैंकको १ अर्ब ८६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३६ पैसा रहेको छ।


































