काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौंको अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा सभा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार पारिएको वासलात, नाफा–नोक्सानी हिसाब तथा नगद प्रवाह विवरणलगायत एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरेको बैंकले जनाएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांशसहित कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
बैंकले आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ। बैंकका अनुसार पछिल्लो २० वर्षको औसत लाभांश दर १०.०५ प्रतिशत रहेको छ।
सभामा अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावअनुसार बैंकको कामकारबाही सञ्चालन गर्दै आगामी दिनमा थप प्रगति हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थागत सुशासन तथा अनुपालनको स्तर उच्च राख्न बैंकले निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा यसलाई थप सबल र सुदृढ बनाउने बताए। साथै, बैंकसँग सम्बन्धित सरोकारवाला पक्षले पुर्याएको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे।
डिजिटल बैंकिङ सेवामा विस्तार
बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ। विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर’ २०२४ र २०२५ को उपाधि प्राप्त गरेको बैंकले फोनपे नेटवर्कको सहकार्यमा नेपालमा पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको उल्लेख गरेको छ।
त्यसैगरी, बैंकले नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रीलान्सरलाई लक्षित गर्दै ‘फ्रीलान्सर सेभिङ्स अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरेको बैंकले जनाएको छ।
बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको छ। साथै, क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १५७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।





































