काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा विकास बैंकहरूको समग्र नाफा १२ प्रतिशतभन्दा बढीले बढेको छ। उपलब्ध तथ्यांकअनुसार १७ विकास बैंकले भदौ मसान्तसम्म १ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको कुल नाफा १ अर्ब २७ करोड ११ लाख रुपैयाँ रहेको थियो। यस आधारमा समीक्षा अवधिमा विकास बैंकहरूको समग्र नाफा १२.२८ प्रतिशतले बढेको देखिन्छ।
नाफामा गरिमा विकास बैंक पहिलो
नाफाका आधारमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ। बैंकले चालु आर्थिक वर्षको भदौसम्म २८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा २७ करोड ४६ लाख रुपैयाँ थियो। यससँगै गरिमाको नाफा ४.८१ प्रतिशतले बढेको छ।
दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले २५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ। यद्यपि, गत वर्षको सोही अवधिमा ३६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस वर्ष ३०.५० प्रतिशतले घटेको छ।
त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २० करोड ८४ लाख रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थान हासिल गरेको छ। बैंकको नाफा गत वर्षको तुलनामा १८.७२ प्रतिशतले बढेको हो।
कामना सेवा विकास बैंकले १९ करोड २६ लाख रुपैयाँ र ज्योति विकास बैंकले १८ करोड ६३ लाख रुपैयाँ नाफा कमाएका छन्।
महालक्ष्मीको नाफामा ७० प्रतिशतको वृद्धि
नाफा वृद्धिदरका आधारमा महालक्ष्मी विकास बैंकले उल्लेखनीय प्रगति गरेको छ। बैंकको नाफा गत वर्षको १० करोड ७५ लाख रुपैयाँबाट बढेर चालु आर्थिक वर्षको भदौसम्म १८ करोड २७ लाख रुपैयाँ पुगेको छ। यो ७०.०४ प्रतिशतको वृद्धि हो।
त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको नाफा ६४.९० प्रतिशतले बढेर १ करोड ६८ लाख रुपैयाँ पुगेको छ। यी तथ्यांकले केही विकास बैंकले नाफा वृद्धिमा उल्लेख्य सुधार गरेको देखाउँछन्।
लुम्बिनी र सांग्रिलाको नाफा घट्यो
सबै विकास बैंकको नाफा भने बढेको छैन। लुम्बिनी विकास बैंकको नाफा ६८.४८ प्रतिशतले घटेर १ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। बैंकले गत वर्षको सोही अवधिमा ३ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा पनि ४०.३१ प्रतिशतले घटेर ९ करोड ७९ लाख रुपैयाँमा झरेको छ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकले भने गत वर्षको ७ लाख ७० हजार रुपैयाँ घाटालाई सुधार गर्दै चालु आर्थिक वर्षको भदौसम्म ३० लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ।
पाँच विकास बैंक अझै घाटामा
समग्र नाफा बढे पनि सलपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंक अझै घाटामा छन्।
यद्यपि, नारायणी, सिन्धु, एक्सेल र कर्णाली विकास बैंकले गत वर्षको तुलनामा घाटा घटाएका छन्। विशेषगरी एक्सेल डेभलपमेन्ट बैंकको घाटा गत वर्षको १८ करोड ६५ लाख रुपैयाँबाट घटेर यस वर्ष करिब ८७ लाख रुपैयाँमा सीमित भएको छ।






































