काठमाडौँ । त्रिदेव पानी तारकेश्वर नगरपालिका- १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इण्डष्ट्रीको उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
साउन २५ गते गोङ्गबु क्षेत्रबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएकोमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि नमुना जाँच गर्दा अक्वा त्रिदेव ब्रान्डको पानीमा फिकल कोलिफर्म भेटिएको महानगरका निरीक्षण अधिकृत डा.अवधेश झाकाले बताएका छन् ।
प्रति १०० मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ युनिट (सीएफयू) देखिएको छ ।
यो शून्य हुनुपर्ने मापदण्ड रहेको झाको भनाई छ । उनका अनुसार जरिवाना गरिएसँगै यो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।


































