काठमाडौँ । सेयर बजारमा सोमबार फराकिलो अंकको वृद्धि भएको छ । यस दिन सूचक १२७.३२ विन्दुले बढेर २८२३.२५ अंकमा आइपुगेको छ । पछिल्लो केही साता निरन्तर ओरालो लागेको शेयर बजारमा साताको दोस्रो कारोबारका दिन उछाल छाएको छ।
सोमबारको नेप्से सूचकको वृद्धिबाट बजारले अब करेक्सन चक्र पूरा गरेको कतिपयले अनुमान लगाएका छन् । सूचक र कारोबार रकम दुवै राम्रोसँग बढेकाले बजारले घट्ने यात्रा समाप्त गरेको उनीहरूको बुझाई छ । यद्यपि, एक दिनकै बजार सूचकका आधारमा निष्कर्षमा पुग्न भने अलि हतार हुन सक्छ । तर समग्रमा बजार बुलिस ट्रेन्डमा रहेको छ ।
छोटो समयमा आकर्षक ढंगले बढेको बजारबाट प्रोफिट बुक गर्नेहरू सक्रिय हुँदा सूचक केही दबाबमा परेको थियो । यस्तै, दैनिक कारोबार रकम पनि खुम्चिएको थियो । तर करेक्सनले सेयर भाउ पुनः सस्तो भएको छ । मूल्य सस्तो भएपछि क्रेताहरू पुनः आकर्षित हुन थालेको अनुमान गरिएको छ ।
आज नेप्सेमा कारोबार भएको ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १० करोड ४३ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा उछाल आउँदा सबै उपसूचक हरियाली भएको छ।
उक्त दिन सबैभन्दा बढी गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४६ करोड ५२ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।




































