काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओले दोस्रो बजारमा अधिकतम २३० रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज पाउने सम्भाव्यता आकलन गरिएको छ ।
कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्कका आधारमा यसलाई आकलन गरिएको हो । कम्पनीले सेयर जारी गर्न प्रकाशित गरेको आह्वान पत्रमा कम्पनीको आव २०७८–७९ को परिष्कृत वित्तीय विवरणका आधारमा वास्तविक प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ ८१ पैसा रहेको छ ।
विद्यमान व्यवस्था अनुसार नेपाल स्टक एक्सचेन्जले कुनैपनि कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ । सोही आधारमा कम्पनीले न्यूनतम ७६ रुपैयाँ ८१ पैसादेखि अधिकतम २३० रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज पाउनेछ ।
मङ्सिर १९ गते मङ्गलवार बाँडफाँड भएको कम्पनीको आइपिओ नेप्सेमा सूचीकरण हुने प्रक्रियामा छ । कम्पनीको आइपिओ गोला प्रथाबाट १ लाख १४ हजार ८०० जना आवेदकले १० कित्ताका दरले पाएका छन् । कम्पनीले मङ्सिर ८ देखि १२ गतेसम्म अंकित मूल्यमा ११ लाख ४८ हजार कित्ता आइपिओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।
मुक्तिनाथ कृषि कम्पनीले कृषक तथा कृषि व्यवसायीहरूको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ ।
ईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
































