काठमाडौं । विश्व बैंकले तेलको भाउ ७५ प्रतिशतले बढ्न सक्ने जनाएकाे छ । विश्वव्यापी भूराजनीतिक तनावका कारण कच्चा तेलको भाउ आकाशिनेप्रति विश्व बैंकले चिन्ता व्यक्त गरेको हाे ।
विशेषगरी इजरायल–हमास र रुस–युक्रेन बीचको युद्ध थप चर्किंदै गएमा कच्चा तेलको भाउ हालको मूल्यबाट ७५% सम्मले बढ्न सक्ने विश्व बैंकले चेतावनी दिएको छ ।
अर्थशास्त्री र नीति निर्माताहरुले इजरायलमा हमासको आक्रमणपछिको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको विश्व बैंकले सोमबार जारी गरेको ‘कमोडिटी मार्केट्स आउटलुक’ रिपोर्टमा उल्लेख छ ।
यद्यपि, हालको मध्यपूर्वको द्वन्द्व र युक्रेन–रुस युद्धले विश्वव्यापीरुपमा आर्थिक असर पार्न सक्ने विश्व बैंकको भनाई छ ।विश्व बैंकको अनुसन्धानले यो त्रैमासमा भने तेलको विश्वव्यापी मूल्य प्रतिब्यारेल औसत ९० डलर हुने देखाएको छ । जुन हालको ८५ डलर प्रतिब्यारेल भन्दा केही बढी हो ।
यता, रिपोर्टमा बैंकले तेलको मूल्यका लागि ३ वटा वैकल्पिक मार्गहरु चित्रण गरेको छ । तेलको आपूर्तिमा सानो अवरोध आएमा प्रतिब्यारेल मूल्य ९० देखि १०२ डलरसम्म रहने देखिन्छ । यस्तै, मध्यम अवरोध आएमा १०९ देखि १२१ डलर र ठूलो अवरोध आएमा १४० देखि १५७ डलरसम्म पुग्ने विश्व बैंकले जनाएको छ ।
सबैभन्दा खराब अवस्था वा सन् १९७३ को अरब–इजरायल युद्धको समयमा जस्तै अवस्था उत्पन्न भएमा बजारबाट प्रतिदिन ८० लाख ब्यारेल तेल आपूर्ति बन्द हुन सक्ने विश्व बैंकले अनुमान गरेको छ ।
त्यस समयमा जस्तै अरब देशले तेल आपूर्ति बन्द गरेमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १५७ डलरसम्म पुग्न सक्ने विश्व बैंकले रिपोर्टमा उल्लेख गरेको छ । यसअघि सन् २००८ मा कच्चा तेलको भाउ इतिहासकै उच्च प्रतिब्यारेल १४७ डलर (मुद्रास्फीति समायोजन नगरिएको) पुगेको थियो ।

































