काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले स्वदेशमा बढी विद्युत खपतपछि मात्रै निर्यात गर्नुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारले विद्युत उत्पादनमा प्रोत्साहन गरिरहेकोमा अहिले दुख: दिन थालेको बताए। २०७५ सालदेखि विद्युत खरिद विक्री रोकेकोमा अहिले करिब ५ हजार मेगावाट खुलाए पनि धेरै शर्त राखिएको उनको भनाइ छ । वनका कारण धेरै आयोजना अलपत्र परेको उनले बताए।
कार्कीले निजी क्षेत्रलाई विद्युत व्यापार र प्रसारणलाइन निर्माणको जिम्मा दिनुपर्ने माग गरे। विद्युत क्षेत्रमा धेरै समस्या रहेकाले संकटकाल घोषणा गरेर आयोजना अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
इप्पानले प्रदेश स्तरीय समिति बनाउने र उर्जा प्रवर्द्धकहरूको महासंघ बनाउने घोषणाा उनले गरेका छन्। कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलविद्युत आयोजनाको वातावरण प्रभाव मूल्यांकन समयमै स्वीकृत भइरहेको बताए। वन ऐन र वातावरण संरक्षण ऐनमा केही अड्चन रहेकाले संशोधन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
उनले विकाससँगै वातावरण संरक्षण गर्ने मन्त्रालयको दायित्य रहेको बताए। सर्वोच्च अदालले गत माघमा संरक्षित क्षेत्रमा जलविद्युत आयोजना बनाउन रोक लगाएको विषयमा पूर्ण फैसला आएपछि सरकारले केही कदम चाल्ने उनको भनाइ छ।






























