काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको बताएका छन् ।
चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा “भविष्यका लागि उर्जा नवप्रर्वतन एकीकरण” भन्ने मूल नारासहित आयोजित शाङ्हाइ सहयोग संगठन (एससीओ) को पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो धारणा राखेका हुन् ।
उनले एससीओ सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवद्र्धन र क्षेत्रीय सहकार्यलाई सुदृढ गर्नुपर्नेमा जोड दिए । ऊर्जा अब व्यापारको विषय मात्र नभई दिगो विकास र साझा समृद्धिको आधार बन्न पुगेको भन्दै उनले एससीओ क्षेत्रलाई साझेदारी र नवप्रवर्तनमार्फत ऊर्जा स्वतन्त्रताको यात्रामा अघि बढाउनु आवश्यक रहेको उल्लेख गरे ।
उनले भारतसँग विद्युत व्यापार सुरु भइसकेको, भारतको ग्रिड प्रयोग गरी पहिलोपटक बङ्गलादेशमा विद्युत निर्यात गरिएको र यसलाई त्रिपक्षीय ऊर्जा सहकार्यको ऐतिहासिक उपलब्धि को रूपमा लिनुपर्ने बताए । एससिओ क्षेत्रमा अवस्थित विशाल जनसंख्या, ऊर्जा स्रोत र सम्भावनालाई दृष्टिगत गर्दै उहाँले नवप्रवर्तन, लगानी प्रवद्र्धन, ऊर्जा व्यापारका लागि क्षेत्रीय संरचना निर्माण तथा आपसी सहकार्यलाई थप मजबुत बनाउनु अपरिहार्य रहेको धारणा राखे ।
नेपालको ऊर्जा योजनाबारे जानकारी दिँदै मन्त्री खड्काले भने, “नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । जसमा १५ हजार मेगावाट निर्यात गरिनेछ ।” हाल नेपालमा ३ हजार ५०० मेगावाटभन्दा बढी विद्युत उत्पादन भइसकेको र सरकारको योजना निकट भविष्यमै यो दोब्बर बनाउने रहेको उनले बताए।
नेपाल एससीओको संवाद साझेदार राष्ट्रको रूपमा ऊर्जा क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले भने, “ऊर्जा क्षेत्र समावेशी, दिगो र सहकार्यमा आधारित हुनुपर्छ, र नेपाल यस यात्रामा अग्रसर छ ।”






























