काठमाडौँ । चितवनका केही क्षेत्रमा आजदेखि लोडसेडिङ सुरु भएको छ। यो लोडसेडिङ नयाँ होइन तर लामो समय तालिका नै सार्वजनिक गरेर लोडसेडिङ भएको भने पहिलो हो ।
पूर्वी चितवनमा दिनमा दुई पटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो। नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।
वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी (माडी, मेघौली,विजयनगर,शुक्रनगर र जगतपुर,रामपुर) फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको जनाइएको छ ।
वितरण केन्द्रका अनुसार, भरतपुर १३२ र ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था रहेको छ । तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।
उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्ने गरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ । लोडसेडिङ सुरु भएसँगै सरकार र प्राधिकरणको आलोचना विरोध सुरु भएको छ । गर्मीको समयमा लोडसेडिङ सुरु गरेको भन्दै स्थानीयले सामाजिक सञ्जाल मार्फत सरकार र प्राधिकरणको विरोध सुरु भएको हो ।
लोडसेडिङ तालिका
१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।
२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।
३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।






























