काठमाडौँ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साउन १५ गतेदेखि साउन १९ गतेसम्म निष्काशन खुला गरेको आईपीओ (भोलि) बिहीबार बिहान १० बजे बाँडफाँट गर्ने भएको छ ।
कम्पनीको उक्त आईपीओ बिक्री प्रबन्धकको रुपमा रहेको लक्ष्मी सनराइज क्यापिटलको कार्यालय नयाँ बानेश्वरमा बाँडफाँट गर्ने तयारी भएको छ ।
कम्पनीले आफ्नो जारी पुँजीको ३८.३३ प्रतिशत अर्थात् प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
पहिलो चरणमा कम्पनीले आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, सर्वसाधारणमा निष्काशन हुने २९ लाख १९ हजार ५०० कित्ता शेयरमध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता शेयरका लागि आम सर्वसाधारणले आवेदन दिएका छन् ।
उक्त आईपीओ २ लाख ४२ हजार २ सय १३ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने भएका छन् ।






























