काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशभर लोडसेडिङ भइरहेको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा सांसदहरूको मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक विद्युत् आपूर्ति सहज रूपमा भइरहेको भन्दै लोडसेडिङको हल्ला निरर्थक भएको स्पष्ट पारेका छन् ।
मन्त्री खड्काले सरकारले विद्युत् विस्तार र आपूर्ति सुनिश्चित गर्ने काम तीव्र गतिमा अगाडि बढाइरहेको बताएका छन् । खड्काका अनुसार हाल १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहे पनि १२ अर्ब ९२ करोड बराबरको जलविद्युत आयात भइरहेको छ।
‘देशभरीको कुरा गर्ने हो भने केही क्षेत्रमा विद्युत् पुर्याउन बाँकी छ, तर ती स्थानमा पनि विद्युत् आपूर्ति भइरहेकै छ। हामीले सुधारको काम तीव्र गतिमा अगाडि बढाएका छौँ र उत्पादनलाई निरन्तरता दिएका छौँ। त्यसैले लोडसेडिङको हल्ला निरर्थक रहेको निवेदन गर्दछु,’ मन्त्री खड्काले भने।






























