काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएको हो । घिसिङलाई अन्यत्र सरुवा गर्ने तयारी भएको भए पनि कहाँ गर्ने भन्ने चाही खुल्न सकेको छैन ।
ऊर्जा तथा जलस्रोत मन्त्रालयले उनलाई कार्यकारी निर्देशकको पदबाट मुक्त गरेर मन्त्रालयमा नयाँ पद सिर्जना गरेर सरुवा गर्ने गरी प्रस्ताव मन्त्रिपरिषद्को सचिवालयमा दर्ता गरेको थियो ।
केपी शर्मा ओलीको नेतृत्वमा सरकारको आठ महिनादेखि घिसिङलाई हटाउन प्रधानमन्त्री र ऊर्जा मन्त्री दीपक खड्काले पटक पटक प्रयास गर्दै आएका थिए। उनलाई कार्यकारी निर्देशकबाट हटाउनका लागि चार पटकसम्म प्रष्टीकरण सोधिएको थियो ।
कुलमानलाई हटाउन ऊर्जा मन्त्री खड्का संसददेखि सार्वजनिक मञ्चसम्म कुलमानका विरुद्ध अभिव्यक्ति दिँदै आएका थिए। घिसिङले भने आफूलाई पदमुक्त गरेको विषयमा कुनै जानकारी नभएको आर्थिक भ्वाइससँग बताएका छन् ।
































