काठमाडौं । गत मंगलबार (असार २४ गते) चीनको तिब्बत हुँदै नेपाल प्रवेश गरेको लेहेन्दे खोलाको (भोटेकोशी) बाढीले रसुवा र नुवाकोटका निर्माणाधीन तथा सञ्चालनमा रहेका १० भन्दा बढी जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउनुका साथै टिमुरेस्थित निर्माणाधीन सुख्खा बन्दरगाहमा समेत व्यापक क्षति पुर्याएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुस्ख व्यक्त गरेको छ। बाढीका कारण हालसम्म सात जनाको मृत्यु भएको छ भने १९ जना नागरिक अझै बेपत्ता छन्।
इप्पानका अनुसार बाढीले करिब २५० मेगावाट क्षमताका जलविद्युत आयोजनाको उत्पादन पूर्णरूपमा बन्द गराएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य अवरुद्ध भएको छ।
उत्पादन बन्द भएका आयोजनामा १११ मेगावाटको रसुवागढी, ६० मेगावाटको त्रिशूली ३ए, २५ मेगावाटको त्रिशूली, २२ मेगावाटको चिलिमे, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट र ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजना छन्। तीमध्ये अधिकांश आयोजना निजी क्षेत्रको लगानीमा सञ्चालन वा निर्माण भइरहेका छन्।
त्रिशूली ३बी हब सवस्टेशनमा क्षति पुगेका कारण माथिल्लो मैलुङ, मैलुङ खोला, त्रिशूली र देवीघाट आयोजना बन्द भएका छन् ।
त्यसैगरी निर्माणाधीन अवस्थामा रहेका २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १०० मेगावाटको सुपर त्रिशूली, र ३७ मेगावाटको त्रिशूली ३बी आयोजनामा पनि बाढीले क्षति पुर्याएको इप्पानले जनाएको छ। त्रिशूली नदी करिडोरको सवस्टेशन र प्रसारण लाइनमा क्षति पुगेकाले उत्पादन र प्रसारण केही दिन ठप्प हुने र त्यसले करोडौंको आर्थिक घाटा हुने अनुमान गरिएको छ।
बाढीले टिमुरे सुख्खा बन्दरगाहका दर्जनौं कन्टेनर र भन्सार बिन्दुमा रहेका सयौं सवारी साधन बगाएको छ। मितेरी पुल भत्किँदा नेपाल–चीन मुख्य व्यापारिक नाका पूर्ण रूपमा अवरुद्ध भएको छ। वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको व्यापार हुने सो नाका बन्द हुँदा नेपाल सरकारको राजस्वमा गम्भीर असर पर्ने इप्पानले जनाएको छ।
इप्पानले उद्धार कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरकारलाई धन्यवाद दिँदै, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गर्न आग्रह गरेको छ।
संस्थाले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। अझै पनि बेपत्ता नागरिकको खोजी कार्य जारी रहेकाले जोखिम क्षेत्रका स्थानीयलाई सतर्क रहन पनि अपिल गरेको छ।






























