काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा १०२ मेगावाटको अप्पर मर्स्याङ्दीमा लगानी हुने भएको छ । सो आयोजनाको कूल लागत रू २१.४० अर्ब रहेको कम्पनीले जनाएको छ ।
परियोजना निमार्णको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता रहेको छ ।
लक्ष्मी सन्राईज बैंकको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. बीच सो कम्पनीले लमजुङ्ग जिल्ला स्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मे.वा. क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न गरिएको हो ।
उक्त सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने विस्वास लिएको छ। अपर मर्स्याङ्दी हाइड्रोपावर–१ ले पौष १०, २०७५ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै यहि पुुस ९ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।
सो कम्पनीको प्रवर्द्वकको रुपमा के.सी. ग्रुप र क्याल ग्रुप रहेका छन्। लक्ष्मी सन्राईज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ । यस्तैगरी सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा ग्लोबल आइएमइ बैंकको ६ अर्ब रुपैयाँ, प्रभु बैंकको ३ अर्ब रुपैयाँसमेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ।
आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठुला स्वतन्त्र उर्जा उत्पादक मध्य एकको रुपमा रहने देखिन्छ ।































