National life

लप्सीफेदी सबस्टेसन निर्माणको काम धमाधम, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ फागुन २०८१, बिहिबार
810Shares
लप्सीफेदी सबस्टेसन निर्माणको काम धमाधम, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य
ncell

काठमाडौं । काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी गराएको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआइएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ ।

सबस्टेसन निर्माण आगामी पुसभित्र (डिसेम्बर २०२५) सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । स्थानीय समस्याका बाबजुद करिब १ वर्षअघि सुरु भएको सबस्टेसन निर्माण हाल पूर्णरुपमा (फूल फेज) मा भइरहेको छ ।

Royal Enfield
nic asia capital
करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब हो ।

मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नुपर्ने माग राख्दै केही स्थानीयबाट सबस्टेसन निर्माणमा लामो समयदेखि अवरोध हुँदै आएको थियो । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरुले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको र प्रारम्भिक वातावरणीय परीक्षण(आईई) तथा पूरक आईईलगायतका सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी उपलब्ध विकल्पहरुमध्ये सबैभन्दा उत्तम बोझिनीलाई सबस्टेसन निर्माणस्थल छनोट गरिएको थियो ।

स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गर्दै सबस्टेसन निर्माण भइरहेको छ । खिम्ती–बाह्रबिसे– लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरु रहने भवनलगायतका सिभिल संरचनाहरुको निर्माण करिब ४० प्रतिशत सकिएको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर,जिआईएस, कन्ट्रोल प्यानललगायतका सम्पूर्ण उपकरणहरुको आपूर्ति करिब ८० प्रतिशत भइसकेको छ ।

आयोजनाअन्तर्गतका खिम्ती र बाह्रबिसे सबस्टेसन पनि निर्माणाधीन छन् । तामाकोशी –काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत २२०/१३२ र १३२/११ केभी तहका सबस्टेसनका सिभिल संरचनाहरुको निर्माण ५० प्रतिशत सकिएको छ । उपकरणहरुको आपूर्ति ९८ प्रतिशत भइसकेको छ । सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएपछि सबस्टेसनमा उपकरणहरुको जडान सुरु हुनेछ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थलको अनुगमन गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीहरुलाई निर्देशन दिएका छन् । तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौं आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सबस्टेसनमा जोडिने छ।

प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरु खडा गरिएको छ । करिब तीन किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ । त्यस्तै, बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ ।उक्त टावरहरु लप्सीफेदी क्षेत्रमै पर्दछन् । करिब ४२ किलोमिटर तार तानिएको छ । तामाकोशी–काठमाडौं प्रसारण लाइनको निर्माण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको आयोजना प्रमुख नितिश पौडेलले बताए।

आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युतलाई लप्सीफेदीबाट नुवाकोटको रातामाटे हुँदै नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिकास्थित नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गराउन सकिनेछ ।

नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेसनहरु तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।

लम्सीफेदी– चाँगुनारायण निर्माणमा अझै अवरोध

लप्सीफेदी सबस्टेसनबाट काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि निर्माण अगाडि बढाइको लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध अझै हट्न सकेको छैन । प्रसारण लाइनको मार्गधिकारका जग्गाधनीले अवरोध गर्दा करिब ७ वर्ष अघिदेखि निर्माण प्रभावित हुँदै आएको छ । यसका कारण प्रसारण लाइन निर्माण नै सुरु हुन सकिरहेको छैन ।

आयोजनाअन्तर्गतको चाँगुनारायण १३२ केभी. सवस्टेसन निर्माण सम्पन्न भइसकेको छ । तर, विद्युत् आपूर्तिका लागि स्रोत नभएकाले चाँगुनारायण सबस्टेसन सञ्चालनमा आउन सकिरहेको छैन । उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालिएपछि मुख्य रुपमा काठमाडौंको पूर्वीभेगको आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । हाल उक्त क्षेत्रमा चावहिल सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
810SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?