काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला तथा जलाशययुक्त जलविद्युत् आयोजना सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा ‘विनियोजन विधेयक–२०८२’अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै उनले कर्णाली, माथिल्लो कर्णाली, भेरी, जगदुल्ला लगायतका आयोजनाहरूमा लगानी परिचालन र निर्माण प्रक्रिया अघि बढाइएको बताए ।
मन्त्री खड्काले माथिल्लो कर्णाली आयोजना भारतको जीएमआर समूहसँग सार्वजनिक–निजी साझेदारीमा अगाडि बढाइएको जानकारी दिएका छन् । भने फुकोट कर्णाली आयोजनामा एनएचपिसी लिमिटेडसँग संयुक्त लगानी सम्झौता भइसकेको छ।
यद्यपि, उक्त आयोजनामाथि सर्वोच्च अदालतमा मुद्दा रहेकाले कार्यान्वयन प्रक्रिया हाल यथास्थितिमा रहेको उनले स्पष्ट पारे।मुगु कर्णाली जलाशययुक्त आयोजना, बूढीगण्डकी आयोजनालाई सार्वजनिक–निजी साझेदारी अवधारणामा अगाडि बढाउने तयारी, र ‘टेक एण्ड पे’ खरिद प्रावधानको संशोधन जस्ता कदमहरूका साथ सरकारले जलविद्युत् उत्पादनको दीर्घकालीन लक्ष्य लिएको छ।
सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्रीले ऊर्जा क्षेत्रलाई बजेटको शीर्ष प्राथमिकतामा राखिएको जानकारी दिए।
बाढी पहिरोबाट क्षति पुगेका आयोजनाहरूको पुनर्निर्माण, लघु तथा साना आयोजना दिगो सञ्चालन, तथा एकीकृत नदी बेसिन जलस्रोत व्यवस्थापन कार्यक्रमहरू पनि सञ्चालनमा रहेको उनले बताए।






























