काठमाडौँ । गोरखा, लमजुङ र तनहुँ भएर बग्ने मर्स्याङ्दी नदीमा एम. ए. पावर प्रा. लि. ले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कुमारी बैंक लिमिटेडको अग्रसरतामा बुधबार उक्त सम्झौता सम्पन्न भएको हो ।
लगानी सम्झौता एम.ए. पावर का अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा भएको थियो । कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि विकास बैक लिमिटेड, सानिमा बैंक लिमिटेड, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड तथा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता भएको हो ।
स्वपूँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डको पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपुँजी लगानी रहने कम्पनीका अध्यक्षले बताए । यही समूह रहेको सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत् २२ मेगावाटको सेतीखोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कार्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता भएको थियो भने २०८६ साल वैशाख २२ गते आयोजनाले व्यापारिक उत्पादन सुरु गर्नु पर्नेछ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्ष आचार्यले बताए । आयोजनाबाट उत्पादित विद्युत् विद्युत् गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभी मा जोडिने छ ।






































