काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा ५०.४५ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा प्रगति भएको छ ।
चैत मसान्तसम्म मात्रै कम्पनीले ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत् बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत् बिक्रीको आम्दानी ८७ करोड १ लाख रुपैयाँ थियो ।
त्यस्तै यस अवधिमा कम्पनीले बिमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ । विद्युत् बिक्रीको आम्दानी बढेको, बिमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब १९ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १७.८७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा रहेको उल्लेख छ ।

































