काठमाडौँ । वर्षा याम सुरुभएसँगै पछिल्लो समय देशभर डेंगी सङ्क्रमितको सङ्ख्या बढेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ जनवरी देखी जुलाई २२ सम्म एक हजार ८२५ जनामा सङ्क्रमण देखिएको जनाएको छ।
जुलाई २२ मा ३३९ सङ्क्रमित थपिएका हुन्। वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५९३ जनामा सङ्क्रमण देखिएको छ भने जिल्लागत रूपमा काठमाडौँमा सबैभन्दा धेरै २०९ जनामा सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ।
यस्तै, झापामा १२९, चितवनमा ९३, मकवानपुरमा ७४, तनहुँमा ५९, ओखलढुङ्गामा ५७, धनकुटामा ५७, भोजपुरमा ५४, काभ्रेमा ५१, कास्कीमा ५० जनामा डेंगी पुष्टि भएको छ। मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेक ७३ जिल्लामा डेंगी सङ्क्रमण फैलिएका ईडीसीडीले बताएको छ ।
डेंगु भएको कसरी थाहा पाउने
–एक्कासी उच्च ज्वरो आउनु,
–लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
–असाध्यै टाउको दुख्नु,
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
–ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
–शरीरमा बिमिरा आउनु ।
डेंगुबाट कसरि बच्ने
–डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,
–पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ,
–पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,
–कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक(दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
–फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,
–लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।
































