विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक प्रविधियुक्त २० वटा मोडुलर अपरेसन थिएटर (ओटी कम्प्लेक्स) को निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। नवनिर्मित उक्त ओटी कम्प्लेक्सको आज एक विशेष समारोहका बीच नोबेलका अध्यक्ष लोकनाथ न्यौपाने तथा उहाँकी जीवनसंगीनी होमादेवी न्यौपानेले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।
योसँगै नोबेल शिक्षण अस्पतालमा सञ्चालनमा आएका कुल मोडुलर अपरेसन थिएटरको संख्या २५ पुगेको छ। अस्पतालका अनुसार न्युरो सर्जरी विभागमा इन्ट्रा-अपरेटिभ अपरेसन थिएटरसहित ३ वटा र स्त्री रोग विभागमा २ वटा मोडुलर ओटी सञ्चालनमा रहेका छन्। यति धेरै संख्यामा मोडुलर अपरेसन थिएटर सञ्चालन गर्ने नोबेल नेपालकै पहिलो स्वास्थ्य केन्द्र बनेको छ।
मोडुलर अपरेसन थिएटरको निर्माण तथा सञ्चालनका लागि नोबेलले हालसम्म १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिसकेको जनाएको छ। अत्याधुनिक मोडुलर ओटी सञ्चालनमा आएसँगै जटिल शल्यक्रियाहरू अझ सुरक्षित, संक्रमणरहित र छिटोछरितो हुने विश्वास अस्पताल प्रशासनले लिएको छ।
उद्घाटन समारोहमा नोबेल सञ्चालक समितिका सल्लाहकार सोइना शर्मा, प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा. डा. रामहरि घिमिरे, प्राचार्य प्रा. डा. राजेश नेपाल, अस्पताल निर्देशक प्रा. डा. अशोक कोइराला, अस्पताल उपनिर्देशक डा. बन्दना पौडेल लगायत अस्पतालका पदाधिकारी, चिकित्सक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाली कांग्रेसका नेता तथा समाजसेवी डा. सुनिल कुमार शर्मा नेतृत्वको नोबेल तथा केएमसीले निरन्तर रुपमा पुर्वाधार विकास गर्दै विशिष्ट सेवाहरु सेवाहरु थप गर्दै आएको छ । देशको दुरदराजमा निःशुल्क स्वास्थ्य शिविर मार्फत दुवै संस्थाहरुले लाखौं जनतामा स्वास्थ्य सेवा पनि पुर्याई सकेको छ ।



































