काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई सबै नागरिकसम्म विस्तार गर्न सरकारले अनिवार्य आबद्धताको तयारी गरेको छ। नयाँ व्यवस्थाअनुसार सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार, अनौपचारिक क्षेत्रका श्रमिक र बेरोजगारसमेत बीमामा समेटिनेछन्। नागरिकको आर्थिक अवस्था र आयका आधारमा योगदान निर्धारण गरिने तथा अति विपन्न नागरिकको प्रिमियम सरकारले नै व्यहोर्ने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नागरिकको आर्थिक अवस्था र आयका आधारमा बीमा योगदान प्रणाली व्यवस्थित गरिनेछ। अति विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकको बीमा प्रिमियम भने राज्यले नै व्यहोर्ने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।
हाल पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान गर्दा एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँदै आएका छन्। मन्त्रालयका अनुसार हालसम्म एक करोड ६८ लाखभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन्। तर, तीमध्ये ६२ लाखभन्दा बढीको मात्रै बीमा सक्रिय रहेको छ। देशभरका ५०२ स्वास्थ्य संस्था पनि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन्।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा अन्य निकायमार्फत सञ्चालन भइरहेका स्वास्थ्य उपचार सुविधासम्बन्धी कार्यक्रमबीच समन्वय र एकीकरण गर्ने प्राथमिकता राखेको छ।
त्यस्तै, बीमामार्फत उपचार सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाको दायरा विस्तार गरी नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने योजना अघि सारिएको छ। बीमामा आबद्धता, नवीकरण, स्वास्थ्य अभिलेख, प्रेषण, बीमा दाबी तथा भुक्तानी प्रक्रियालाई डिजिटल प्रणालीमा आधारित बनाउने मन्त्रालयको तयारी छ।
स्वास्थ्य बीमा कार्यक्रमको दुरुपयोग रोक्न अनावश्यक स्वास्थ्य परीक्षण, अनुचित बीमा दाबी तथा प्रणालीगत अनियमितता नियन्त्रणका लागि प्रभावकारी कानुनी र निगरानी व्यवस्था विकास गर्ने पनि सरकारको प्राथमिकतामा रहेको मन्त्रालयले जनाएको छ।
यसका साथै स्थानीय तहका आधारभूत स्वास्थ्य संस्था, प्रदेशका अस्पताल तथा संघीय सरकारअन्तर्गतका स्वास्थ्य संस्थालाई एउटै बीमा प्रणालीसँग जोड्ने योजना छ। तीनै तहका सरकारको अधिकार, दायित्व, वित्तीय जिम्मेवारी र जवाफदेहिता स्पष्ट पार्दै स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाइने मन्त्रालयले उल्लेख गरेको छ।
मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमको सफलता बीमामा आबद्ध नागरिकको सङ्ख्याले मात्रै निर्धारण नहुने स्पष्ट पारेको छ। आवश्यक परेको समयमा नागरिकले सहज रूपमा उपचार पाउने अवस्था र कार्यक्रमको वित्तीय दिगोपना नै स्वास्थ्य बीमाको वास्तविक सफलता हुने मन्त्रालयको भनाइ छ।
सरकारले सक्षम नागरिकबाट क्षमताअनुसार योगदान लिने, योगदान गर्न नसक्ने नागरिकको जिम्मेवारी राज्यले व्यहोर्ने र सबै नागरिकलाई स्वास्थ्य उपचारको सुनिश्चितता गर्ने व्यवस्था निर्माण गर्ने जनाएको छ। आर्थिक अभावका कारण कुनै पनि नेपाली उपचारबाट वञ्चित हुन नपर्ने अवस्था सिर्जना गर्नु सरकारको मुख्य लक्ष्य रहेको मन्त्रालयले उल्लेख गरेको छ।


































