बाँके । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन भएको छ। निर्वाचनबाट चिरञ्जीवी ओली अध्यक्षमा फराकिलो मतान्तरसहित विजयी भएका छन्।
आइतबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार ओलीले १ हजार ३८६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी ध्रुवप्रसाद दाहालले ३७४ मत पाएका छन्।
महिला उपाध्यक्षमा रूपा ओझा १ हजार १६६ मतसहित निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी उमा ग्राण्डनले ५०३ मत प्राप्त गरिन्। महासचिवमा विष्णु श्रेष्ठले १ हजार २८७ मत ल्याएर जित हासिल गर्दा दीपेन्द्रकुमार जोशीले ४०८ मत पाए।
उपमहासचिव पदमा भने निकै प्रतिस्पर्धात्मक नतिजा आएको छ। प्रदीप आचार्य ८६४ मतसहित विजयी हुँदा शिवप्रसाद दाहालले ८४२ मत प्राप्त गरे।
त्यस्तै, कोषाध्यक्षमा टीकामणि उपाध्याय ९१७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सूर्य श्रेष्ठले ५९८ र नारायण प्रसाईंले १८३ मत प्राप्त गरे।
कार्यसमिति सदस्यतर्फ सन्तोषकुमार पौडेल, तोपबहादुर थापा, नन्दराम जैसी, शरदराज अधिकारी, नगेन्द्र शाही, आदित्य गुप्ता, जाहाँगिर मुसलमान, शरदप्रसाद रिजाल, सुरजबहादुर भण्डारी र अतुलकुमार गुप्ता निर्वाचित भएका छन्।
सङ्घको उपाध्यक्षतर्फ उद्योगमा कमलकुमार कार्की र वाणिज्यमा विष्णुप्रसाद श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।





































