काठमाडौं । चीनले रसुवागढीसँग जोडिने केरुङ नाका जाने स्थलमार्ग बुधबार बिहान १० बजेदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याएको छ ।
बाढीका कारण अवरुद्ध सडकको अन्तिम खण्डसमेत अस्थायी रूपमा सञ्चालनमा आएपछि अब उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी सडकमार्फत प्रभावित क्षेत्रमा पुर्याउन सहज हुने भएको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार सडक सञ्चालनमा आएसँगै विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप तीव्रता दिन सकिने भएको छ ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण नेपाल–चीन सीमा क्षेत्रका विभिन्न सडक खण्डमा ठूलो क्षति पुगेको थियो ।
अब केरुङतर्फको सडक सञ्चालनमा आएसँगै चिनियाँ पक्षबाट उपलब्ध हुने प्राविधिक सहयोग, उद्धार उपकरण तथा भारी मेसिनरी प्रभावित क्षेत्रमा पुर्याउन सहज हुने अपेक्षा गरिएको छ ।
सडक सञ्चालनले रसुवागढी तथा आसपासका क्षेत्रमा जारी खोज तथा उद्धार, राहत र पुनःनिर्माणका कामलाई गति दिने अपेक्षा गरिएको छ । बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनःनिर्माणसँगै वैकल्पिक पहुँच मार्ग सञ्चालनका लागि नेपाल र चीन दुवैतर्फबाट प्रयास जारी रहेको जनाइएको छ ।


































