नयाँ दिल्ली । बङ्गालको खाडीबाट भारतको आन्ध्र प्रदेशको तटतर्फ बढिरहेको चक्रवात अर्नबका कारण भारतका विभिन्न राज्यमा भारी वर्षा र तीव्र हावाहुरीको जोखिम बढेको छ। मौसम विभागका अनुसार चक्रवात अक्टोबर २७ सम्ममा भीषण आँधीमा परिणत हुन सक्ने र अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको तटमा ठोक्किन सक्ने अनुमान गरिएको छ।
चक्रवातका कारण प्रतिघण्टा १४० किलोमिटरसम्मको गतिमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशमा करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। तटीय जिल्लाहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको छ भने माछा मार्नेहरूलाई अक्टोबर २९ सम्म समुद्रमा नजान आग्रह गरिएको छ।
चक्रवातको प्रभाव ओडिशामा समेत पर्ने अनुमान गरिएको छ। उद्धार तथा राहत कार्यका लागि त्यहाँ ६० वटा उद्धार टोली परिचालन गर्ने तयारी गरिएको छ। साथै, ओडिशाका छ जिल्लामा अक्टोबर २८ र २९ गते विद्यालय तथा कलेज बन्द रहने जनाइएको छ।
यस चक्रवातको प्रभावका कारण मध्य प्रदेश र उत्तर प्रदेशसहित भारतका १० राज्यमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच, तमिलनाडुमा विगत तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। अरनिको भास्कर नगर जलमग्न हुँदा स्थानीय बासिन्दा घरभित्रै थुनिनुपरेको छ। कोडाइकनालमा पर्यटकको प्रवेशमा रोक लगाइएको छ भने तिरुवारुर जिल्लामा पनि तीव्र वर्षा भएको छ। यद्यपि, तिरुवारुरमा विद्यालय तथा कलेज सञ्चालनमै रहेको जनाइएको छ।
मौसम पूर्वानुमानअनुसार मंगलबार आन्ध्र प्रदेशमा भारी वर्षाको रेड अलर्ट र ओडिशामा ओरेन्ज अलर्ट जारी गरिएको छ। छत्तीसगढ, तेलङ्गाना, तमिलनाडु, पुडुचेरी, केरला, कर्नाटक र रायलसीमामा भने वर्षाको यलो अलर्ट जारी गरिएको छ।
त्यस्तै, बुधबार आन्ध्र प्रदेश, छत्तीसगढ, तेलङ्गाना र ओडिशामा अति भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै रेड अलर्ट जारी गरिएको छ। झारखण्डमा ओरेन्ज अलर्ट तथा पश्चिम बङ्गाल, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, पूर्वी मध्य प्रदेश, विदर्भ र कर्नाटकमा यलो अलर्ट जारी गरिएको छ।
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै प्रभावित राज्यहरूमा सतर्कता बढाइएको छ भने सम्भावित विपद् व्यवस्थापनका लागि तयारी तीव्र पारिएको छ।






































