काठमाडौं । अमेरिकाले नेपालका बाढी प्रभावित नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै विपद्को यस कठिन समयमा अमेरिका नेपाली जनताको साथमा रहेको जनाएको हो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार घोषित सहयोगबाट बाढीबाट प्रभावित १० हजार घरपरिवारलाई तीन महिनासम्मका लागि आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ।
बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न उक्त मानवीय सहायता परिचालन गरिने अमेरिकाले जनाएको छ।
यसैबीच, अमेरिकी विदेश मन्त्रालयले नेपालमा रहेका आफ्ना नागरिकको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको जनाएको छ। विपद्का कारण प्रभावित अमेरिकी नागरिकको अवस्थाबारे आवश्यक समन्वय तथा सहयोगलाई समेत प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।
नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढी तथा पहिरोपछि विभिन्न मुलुकले राहत तथा मानवीय सहायता घोषणा गरिरहेका बेला अमेरिकाले समेत ठूलो परिमाणमा सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।


































