काठमाडौं । बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ पठाउने भएको छ ।
बुधबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उक्त रकम तत्काल पठाउन लागिएको जानकारी दिए ।
डा.
बाढीको वस्तुस्थितिबारे जानकारी दिँदै डा. उप्रेतीले बाढीको सुरुवातमै जल तथा मौसम विज्ञान विभागको एक मापन स्टेसन बगाएको बताए ।
‘स्टेसन बगाएपछि अर्को स्टेसनसम्म बाढी आइपुग्न करिब डेढ घण्टा लागेको थियो। अर्को स्टेसनमा पानीको बहावले खतराको तह (डेन्जर लेभल) पार गरेको छ,’ उनले भने, ‘अहिले उक्त बाढी मुग्लिङ र सोभन्दा तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ ।’ यद्यपि, माथिल्लो जलाधार क्षेत्रमा भने बाढीको सतह बिस्तारै घट्दो क्रममा रहेको उनले जानकारी दिए ।
बाढीपहिरोका कारण केही हताहती भएको अनौपचारिक सूचना आए पनि स्थलगत रूपमा आधिकारिक पुष्टि नहुन्जेलसम्म यकिन विवरण भन्न नसकिने डा. उप्रेतीले स्पष्ट पारे ।



































