काठमाडौं । प्रधानमन्त्री बालेन शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा बिहीबार भएको भेटमा घिसिङ नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या तथा तत्काल गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई सुझाव दिएको हो।
भेटपछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै घिसिङले विपद्का बेला स्थलगत रूपमा देखिएका विषयलाई आधार बनाएर सरकारलाई लिखित तथा मौखिक सुझाव दिइएको बताए। उनका अनुसार विशेषगरी उद्धार, राहत र पुनःस्थापनाका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।
भेटमा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारबारे समेत छलफल भएको घिसिङले जानकारी दिए। प्रधानमन्त्री बालेनले सुरुङभित्र फसेकाहरूको उद्धारका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएको उनले बताए।
घिसिङका अनुसार प्रधानमन्त्रीले उद्धारका लागि जुनसुकै स्रोत र जनशक्ति परिचालन गर्नुपरे पनि पछि नहट्ने बताएका थिए। विपद्को समयमा उद्धार कार्यलाई प्राथमिकतामा राख्दै आवश्यक सबै उपाय अपनाएर अघि बढ्ने प्रधानमन्त्रीको भनाइ रहेको घिसिङले जानकारी दिए।
घिसिङ नेतृत्वको टोलीले सुरुङमा फसेका नागरिकको उद्धारका लागि अपनाउनुपर्ने उपायबारे समेत प्रधानमन्त्रीसमक्ष आफ्ना सुझाव प्रस्तुत गरेको थियो।

































