काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरेको छ।
यूएई एडको टोलीले आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसँग भेट गर्दै बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा उपकरण उपलब्ध गराउन आफूहरू तयार रहेको जानकारी गराएको हो।
भेटका क्रममा यूएई एडको टोलीले प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री तथा उपकरणबारे प्राधिकरणसँग जानकारी लिएको थियो।
प्राधिकरणले प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकताबारे जानकारी गराएपछि यूएईको टोलीले सोहीअनुसार सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको उप्रेतीले बताए।
भेटमा यूएई एडका अन्तर्राष्ट्रिय सहायता निर्देशक डा. अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी, मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीलगायत सहभागी थिए।
नेपाल र यूएईबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ। दुई देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहयोगका विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ।
रसुवाको भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।




































