काठमाडौं । दृष्टिविहीन व्यक्तिहरूले मंगलबार माइतीघर क्षेत्रमा धर्ना प्रदर्शन गरेका छन्। सडक पेटीमा आधारित आफ्नो रोजगारीमा अवरोध सिर्जना भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
सरकारी निकायहरूले सडक पेटी खाली गराउने क्रममा आफूहरूलाई हटाउने र जीविकोपार्जन गर्न नदिने गरेको उनीहरूको आरोप छ। स्वरोजगारमा निर्भर दृष्टिविहीन व्यवसायीहरूले वैकल्पिक व्यवस्था बिना हटाउने प्रयास अन्यायपूर्ण भएको बताएका छन्।
प्रदर्शनमा सहभागीहरूले आफूहरू बाध्यतावश सडकमा काम गर्नुपरेको उल्लेख गर्दै राज्यले उचित विकल्प उपलब्ध गराउनुपर्ने माग गरेका छन्। उनीहरूले जबरजस्ती हटाउने कार्य रोक्न र जीविकोपार्जनका लागि सुरक्षित स्थानको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।





































