काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले नेपालमा विपद्बाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ।
राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा शुक्रबार बसेको सीपीसीको राजनीतिक ब्युरो बैठकले चीनको केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोको अवस्थाबारे समीक्षा गर्दै नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
बैठकमा राष्ट्रपति सीले विनाशकारी पहिरोपछि जारी खोज तथा उद्धार एवं राहत कार्यबारे छलफल गर्दै आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
बैठकको सुरुवातमा राष्ट्रपति सी चिनफिङसहित चिनियाँ नेताहरूले बुधबार ग्यिरोङको सीमा नाकामा भएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए।
सिन्ह्वाका अनुसार पार्टी केन्द्रीय समितिको नेतृत्वमा आपत्कालीन उद्धार कार्यलाई तीव्र, व्यवस्थित र प्रभावकारी समन्वयका साथ अघि बढाइएको छ। प्रभावित नागरिकको पुनःस्थापना तथा विपत्तिपछिको व्यवस्थापनका लागि समेत व्यापक प्रयास भइरहेको जनाइएको छ।
विपत्ति अत्यधिक चिसो हिमाली क्षेत्रमा भएको, भिराला उपत्यका, परिवर्तनशील मौसम, आसपासका हिमनदी तथा हिमताल र सम्भावित भौगर्भिक जोखिमका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको बैठकले निष्कर्ष निकालेको छ।
बैठकले सम्बन्धित सबै निकाय तथा विभागलाई उद्धार कार्यमा दृढ र प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ। साथै, खोज तथा उद्धारका योजना वैज्ञानिक ढंगले तयार पार्दै बेपत्ता भएका चिनियाँ तथा विदेशी नागरिकको खोजी र उद्धारका लागि हरसम्भव प्रयास गर्न जोड दिइएको छ।
चीनले नेपालमा विपद्बाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णयसमेत गरेको छ।


































