National life

चीनमा पहिरोले बनेको ताल फुटेको सूचना, रसुवामा बाढीको जोखिम बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१२ भदौ २०८३, शुक्रबार
1.1kShares
चीनमा पहिरोले बनेको ताल फुटेको सूचना, रसुवामा बाढीको जोखिम बढ्यो
ncell

काठमाण्डौ । चीनतर्फ पहिरोका कारण थुनिएर बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएपछि रसुवामा नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा पहिरोका कारण बनेको ताल फुटेको जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको हो। ताल फुटेको सूचना आएलगत्तै नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै सूचना प्रवाह गरिएको उनले बताए।

‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ,’ प्रजिअ परियारले भने, ‘नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर गरिसकिएको छ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

छोचेन खोला र पुरेपू त्साङ्पो त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदी हुन्। तिब्बतबाट बग्ने यी नदी नेपाल प्रवेश गरेपछि भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा मिसिन्छन्। त्यसैले चीनतर्फ थुनिएको ताल फुटेपछि त्यसको प्रभाव नेपालतर्फका नदी तटीय क्षेत्रमा पर्न सक्ने जोखिम रहेको छ।

यसअघि पहिरो र ठूलो मात्रामा थुप्रिएको भग्नावशेषका कारण उक्त क्षेत्रमा नदी थुनिएर ठूलो ताल बनेको थियो। बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तीन दिनभित्र थप करिब ३० लाख घनमिटर पानी थपिन सक्ने अनुमान चिनियाँ जलस्रोत मन्त्रालयले गरेको थियो।

तालको आकार निरन्तर बढ्दै गएपछि बाँध फुट्ने जोखिमलाई लिएर चीनले समेत उच्च सतर्कता अपनाउँदै आएको थियो। चिनियाँ अधिकारीहरूले तालको अवस्था निरन्तर निगरानी गर्नुका साथै सम्भावित जोखिमलाई ध्यानमा राखेर उद्धार तथा राहत टोलीलाई समेत सतर्क अवस्थामा राखेका थिए।

ताल फुटेपछि थप बाढी आउन सक्ने जोखिम बढेकाले चीनले तिब्बत क्षेत्रमा सञ्चालन भइरहेको उद्धार अभियानसमेत अस्थायी रूपमा स्थगित गरेको थियो। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उद्धार टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको थियो।

पहिरोपछि नदीमा थुप्रिएको लेदो तथा भग्नावशेषका कारण बनेको ताल भरिँदै गएपछि पानी उद्धार टोली परिचालित क्षेत्रमा पुग्न थालेको बताइएको थियो। त्यसपछि उद्धार टोलीलाई सुरक्षित स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको थियो।

यसअघि नै उक्त ताल फुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपालतर्फ भोटेकोशी र त्रिशूली नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो।

ताल फुटेको सूचना प्राप्त भएसँगै रसुवा तथा भोटेकोशी–त्रिशूली नदी प्रणालीको तल्लो क्षेत्रमा थप बाढीको जोखिम बढ्न सक्ने भएकाले नदी किनार, तटीय बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?