काठमाडौं । नेपालमा आएको भीषण बाढीको असर तिब्बतको सीमावर्ती क्षेत्रमा समेत परेपछि चिनियाँ प्रधानमन्त्री ली छियाङ बिहीबार केरुङ पुगेका छन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सी चिनफिङले वरिष्ठ अधिकारीहरूको टोलीको नेतृत्व गर्दै उद्धार तथा राहत व्यवस्थापनको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री लीलाई तिब्बत पठाएका हुन्।
केरुङ पुगेपछि प्रधानमन्त्री लीले प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको निरीक्षण गर्नुका साथै विपद्बाट प्रभावित नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
राष्ट्रपति सीले बुधबार नै विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
चिनियाँ पक्षका अनुसार केरुङ क्षेत्रमा हालसम्म तीन जनाको शव फेला परेको छ भने ५५८ जना अझै बेपत्ता छन्। त्यस्तै, नेपालमा करिब १०० जना चिनियाँ नागरिक सम्पर्कविहीन रहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपालसँग समन्वय भइरहेको बताइएको छ।
प्रधानमन्त्री लीसँगै १४१ जना उद्धारकर्मी पनि बिहीबार मध्याह्न केरुङ पुगेका छन्। उनीहरूले ड्रोनलगायत आधुनिक उपकरण प्रयोग गरी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अघि बढाइरहेका छन्।
उद्धारकर्मीलाई तिब्बत पुर्याउन चिनियाँ जनमुक्ति सेनाको विमान प्रयोग गरिएको जनाइएको छ। भौगोलिक कठिनाइ र थप विपद्को जोखिमबीच चिनियाँ पक्षले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ।


































