काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा पुगेको छ। विभागले जबराको घरमा छापा मारेर आवश्यक प्रमाण तथा कागजात संकलन गरिरहेको बताइएको छ।
विभागको टोली जबराका केही नातेदार तथा निकटस्थ व्यक्तिका घरमा समेत पुगेको स्रोतले जनाएको छ। आज दिउँसो जबरानिकट मानिएका नारायण दाहाल, दीपक तिमल्सिना र नवीन बस्नेतलगायतका घरमा पनि विभागको टोली पुगेको बताइएको छ।
जबराका भाइ प्रभुशमशेर जबराको घरमा समेत विभागले छापा मारेको स्रोतको भनाइ छ। अनुसन्धानका क्रममा केही महत्वपूर्ण कागजातसमेत बरामद गरिएको बताइएको छ।
यसअघि सरकारले सुरक्षा चुनौती रहेको भन्दै जबरालाई घरबाट नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको थियो। त्यसक्रममा उनको मोबाइलसमेत नियन्त्रणमा लिइएको बताइएको छ।
केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि जबरालाई उनकै निवासबाट राति नियन्त्रणमा लिएको थियो। करिब १२ घण्टा नियन्त्रणमा राखेपछि उनलाई छाडिएको थियो।



































