काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित रूपमा आएको ठूलो बाढीपछि भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत थापाले बाढीका कारण रसुवाको अवस्था गम्भीर र चिन्ताजनक बनेको बताए । उनले तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन अपिल गरे ।
‘रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ,’ उनले भने, ‘यस विपदको अवस्थामा भोटेकोशी, त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु ।
उनले विपद्को यस अवस्थामा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले विपद् व्यवस्थापनमा सरकारका प्रयासमा कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । थापाले पार्टीका सम्पूर्ण समिति तथा नेता–कार्यकर्तालाई उद्धार र राहतमा तत्काल परिचालन हुन आग्रह गरे ।



































