एआईमा बढ्दो लगानीले गुगललाई झट्का, एकै दिन गुमायो ५०० अर्ब डलरको बजार मूल्य
काठमाडौं । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार पुँजीकरण गुमाएको छ। कम्पनीको वित्तीय प्रतिवेदन सार्वजनिक भएपछि लगानीकर्तामा बढेको निराशासँगै बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो।
गुगलको मुख्य आम्दानीको स्रोत सर्च इन्जिनमै कृत्रिम बौद्धिकता (एआई) को प्रभाव देखिन थालेपछि लगानीकर्ता थप सशंकित बनेका छन्। विशेषगरी सर्चमा एआईमार्फत तयार गरिने सारांशले विज्ञापनबाट प्राप्त हुने आम्दानीमा असर पारिरहेको कम्पनीको खुलासाले बजारमा चिन्ता बढाएको हो।
यसै साता माइक्रोसफ्ट र अमेजनले पनि आफ्नो व्यावसायिक प्रगतिको विवरण सार्वजनिक गरेका थिए। तीनवटै प्रविधि कम्पनीले एआई क्षेत्रमा ठूलो लगानी विस्तार गर्ने योजना अघि सारेका छन्। तर, एआईमा बढ्दो खर्चले कम्पनीहरूको परम्परागत व्यवसाय र नाफा क्षमतामा कस्तो असर पार्छ भन्ने प्रश्न लगानीकर्तामाझ उठेको छ।
आम्दानी बढ्दा पनि नाफामा गिरावट
पहिलो दृष्टिमा अल्फाबेटको त्रैमासिक वित्तीय नतिजा सकारात्मक देखिन्छ। गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल आम्दानी २५ प्रतिशतले बढेर १२७ अर्ब ६० करोड डलर पुगेको छ।
विशेषगरी गुगल क्लाउड व्यवसायको तीव्र विस्तारले आम्दानी वृद्धिमा महत्वपूर्ण योगदान दिएको छ। कम्पनीका अनुसार क्लाउड व्यवसायको आम्दानी १०३ प्रतिशतले बढेर करिब ३१ अर्ब डलर पुगेको छ।
तर, आम्दानीमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको नाफा भने २५ प्रतिशतले घटेको छ। यसले आम्दानी विस्तार र वास्तविक नाफा वृद्धिबीचको अन्तरलाई उजागर गरेको छ।
एआईमा लगानीले नगद प्रवाहमा दबाब
अल्फाबेटले सार्वजनिक कम्पनी बनेयता दोस्रोपटक ऋणात्मक स्वतन्त्र नगद प्रवाह (फ्री क्यास फ्लो) देखाएको छ। समीक्षाधीन त्रैमासिक अवधिमा कम्पनीको स्वतन्त्र नगद प्रवाह ९ अर्ब डलरभन्दा बढी ऋणात्मक भएको छ।
यो रकम तीन महिनाअघिको तुलनामा झन्डै दोब्बर हो। एआई पूर्वाधार, प्रविधि विकास र विस्तारमा भइरहेको ठूलो लगानीले कम्पनीको नगद प्रवाहमा दबाब बढाएको देखिन्छ।
गुगलको मुख्य व्यवसायमै एआईको चुनौती
अल्फाबेटका लागि सबैभन्दा ठूलो चुनौती एआईमा भइरहेको खर्च मात्रै होइन, त्यसले कम्पनीको परम्परागत आम्दानीको स्रोतमा पार्न सक्ने प्रभाव पनि हो।
गुगल सर्चमा एआईबाट तयार हुने सारांशले प्रयोगकर्तालाई खोजेको जानकारी सर्च नतिजा नखोली उपलब्ध गराउन थालेपछि विज्ञापनमा आधारित पुरानो व्यावसायिक मोडल प्रभावित हुन सक्ने चिन्ता छ।
यसले प्रविधि कम्पनीहरूका लागि नयाँ चुनौती सिर्जना गरेको छ। एआई प्रतिस्पर्धामा पछि पर्न नहुने दबाब एकातिर छ भने अर्कोतिर त्यसमा गरिएको ठूलो लगानीबाट दिगो आम्दानी र नाफा सुनिश्चित गर्नुपर्ने अवस्था छ।
अल्फाबेटको पछिल्लो वित्तीय नतिजाले प्रविधि क्षेत्रमा एआईको प्रतिस्पर्धा अब प्रविधिगत उपलब्धिमा मात्रै सीमित नरही कम्पनीहरूको आम्दानी, नाफा र बजार मूल्यसँग समेत प्रत्यक्ष जोडिन थालेको संकेत गरेको छ।


































